
पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालको यात्रा पहिलो चरणबाटै समाप्त भएको छ । समूह ‘सी’ मा रहेको नेपाल शनिबार भियतनामसँग २-० ले पराजित भएसँगै नेपाल पहिलो चरणबाटै बाहिरिएको हो । नेपाल भियतनामसँग समग्रमा ७-१ ले पराजित हुँदै छ्नोटबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन दुबै गोल पाम हाइ येनले गरिन्। खेलको छैटौं मिनेटमा हाइ येनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन् । त्यसको अर्को मिनेटमा नै येनले नै भियतनामको अग्रतालाई दोब्बर पारिन् ।
खेलको सुरुआतमै दुई गोल बेहोरे पनि नेपालले पहिलो हाफको अन्तिम समयदेखि नै भियतनाममाथि केही दबाब सृजना गरेको थियो ।नेपालकी साबित्रा भन्डारीले ३९औं मिनेटमा ‘वान भर्सेस वान’मा पाएको मौका सदुपयोग गर्न सकिनन् । दीपा शाहीले ६७औं मिनेटमा ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्किँदा नेपाल दुर्भाग्यशाली साबित भयो ।
यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग ५-१ ले पराजित भएको थियो । नेपाललाई दुवै खेलमा पराजित गरेको भियतनाम भने छ्नोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपाल र भियतनाम समूह ‘सी’मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टिमबीचको पहिले खेल चैत २२ गरे भएको थियो ।