प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी अध्यक्ष दाहालले पहिलो विदेश भ्रमण यही महिनाको तेस्रो साता गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय भ्रमणको गृहकार्यमा जुटेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको मिति र अजेन्डाहरु बारेमा सोमबार मात्रै प्रधानमन्त्री र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको थियो । मंगलबारको मन्त्रिपरिषद् बैठकमा पनि यो विषयमा छलफल भएको छ । यद्दपि मिति घोषणा भने गरिएको छैन ।

आइतबार परराष्ट्रमन्त्रीको कार्यभार सम्हाल्दै साउदले आफू प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्ने बताएका थिए । सोमबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीचमा पनि मिति र त्यहाँ छलफल हुने अजेण्डाबारे पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा छलफल गरिने अजेन्डाहरु र सहमति गर्ने प्रस्तावहरुमाथिसमेत नेपाल र भारत दुवैतिरका अधिकारीहरुले पछिल्लो समय छलफल गरिरहेका छन्  । रक्सौल–काठमाडौ रेलमार्ग निर्माणको साथै भैरहवा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरुको लागि रुट परमिटदेखि उर्जा व्यापार सम्झौता र ई–वालेट लगायतका विषयमा नेपाल र भारतबीच गृहकार्य चलिरहेको छ ।

भारतीय पक्षले रक्सौल–काठमाडौं रेलमार्गलाई प्राथमिकतामा राखेर गृहकार्य गरिरहेको छ भने नेपालले प्रधानमन्त्रीको भारत भ्रमणबाट भैरहवा विमानस्थललाई आवश्यक रहेकाले भारतका तर्फबाट रुट परमिट पाउने अजेण्डालाई प्राथमिकतामा राखेको छ ।

त्यही छलफलका लागि भारतका सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेसमेत काठमाडौं आएका छन् । गएको आइतबार सुदूरपश्चिमको धनगढीमा आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागी हुन आइपुगेका चौथावालेले मंगलबार काठमाडौं आएर राजनीतिक छलफल सुरु गरेका छन् । उनले मंगलबार गृहमन्त्रीसहित कांग्रेस सभापति र एकीकृत समाजवादीका अध्यक्षसँग भेटे गरेका छन् । चौथावालेले बुधबार प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्नेछन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहँदा चौथावालेले काठमाडौंमा अर्थपूर्ण भेटघाट गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट रहेर काम गरिरहेका चौथावाले यसअघि पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि काठमाडौं आएर छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणासँग राखी नै बाँधेर चर्चामा आएका चौथावालेले नेपाली कांग्रेसको सम्बन्ध भाजपासँग विस्तार गर्ने प्रयास गरिरहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता तथा सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसका नेताहरुको टोलीले भाजपाको निमन्त्रणामा दिल्ली गएर भाजपा नेताहरुसँग छलफलहरु तथा अन्तरक्रियाहरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय