आजबाट भारतको बेंगलुरुमा सुरू दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले खराब सुरूवात गरेको छ।
उद्घाटन खेलमा नेपालमाथि कुवेतले ३-१ गोलको जित निकालेको छ।
पहिलो हाफमा २-० गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो। नेपालका लागि दोस्रो हाफमा अन्जन विष्टले गोल गरे।
खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।कर्नर बललाई नेपाली डिफेन्डरले क्लियर गर्न नसक्दा खालिदले हेडमार्फत् बललाई जाली चुमाए।
कुवेतले ४२औं मिनेटमा अग्रता दोब्बर पार्यो। अलखालिदले डिबक्सभित्र प्राप्त अवसरमा नेपाली डिफेन्डर विमल पाण्डेको रोक्ने प्रयास विफल पार्दै उत्कृष्ट फिनिसिङ गरे।
पहिलो हाफमा नेपालका लागि अन्जन विष्टले डिबक्स भित्र मौका पाए पनि फिनिसिङ गर्न सकेनन्।कुवेतले पहिलो हाफमा नेपाली पोस्टमा दबाब दिएपछि नेपाली डिफेन्डर व्यस्त बनेका थिए। खेलको ६५औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत् तेस्रो गोल गर्यो। अनन्त तामाङले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा कुवेतका मोहमद अब्दुल्लाहले गोल गरे।
नेपालले ६८औं मिनेटमा गोल गर्न सफल भयो। कुवेतका डिफेन्डरले हेड बल क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा नेपालका अन्जन विष्टले उत्कृष्ट फिनिसिङ गरे।




