पोखरामा आज (शुक्रबार)देखि सुरू भएको नेपाल–चाइना फ्रेण्डसिप ड्रागन बोट फेस्टिवलकाे पहिलो चरणको खेल सम्पन्न भएको छ।

यसमा पहिलो नम्बरमा चीनको सिचुआन ड्रागन बोट टिम रहेको छ। यस्तै दोस्रो नम्बरमा नारा ड्रागन बोट टिम (नेपाल), तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ।

पहिलो चरणमा विभिन्न ८ टिममा डेढ सय जना प्रतियोगितामा सहभागी थिए। प्रतियोगिताका विजेतालाई २० लाख रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

पोखरामा दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेस शुक्रबारदेखि सुरू भएको हो। फाइनल रेस भने शनिबार हुनेछ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा ड्रागन बोट रेस सुरू भएको हो। रेसलाई नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल नाम दिइएको छ।

चिनियाँ दूतावास काठमाडौंका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ जिनले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएकाे उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देशबीच सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा गर्न सघाउ पुग्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलोपटक आयोजना गरिएकाे यस प्रकारको कार्यक्रमले समग्र नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए।

उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोच रहेको बताए।

‘यो कार्यक्रम नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै। यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ। यसमा सबै सरोकारवालाहरूको सहयोग र सहभागिता जरुरी छ ‘ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link