कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रदेसभा बैठक बोलाइएको छ।
बिहीबार बसेको बैठकमा आफूले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभाहलबाट बाहिरिएका मुख्यमन्त्री र केही मन्त्रीहरू बैठकमा नफर्किएपछि हिजो अबेर बैठक स्थगित गर्ने निर्णय भएको थियो।
बिहीबारको बैठकमा मुख्यमन्त्री कार्कीले पेस गरेको प्रस्तावमाथि छलफल क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएका थिए। यिनै दलहरूसँगको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ बसेको थियो।
जसपा तटस्थ बसेर अन्य दल विपक्षमा बसेपछि मुख्यमन्त्रीले बहुमत नपाउने निश्चित भएको थियो। विश्वासको मतबारे छलफल सकिएपछि सभामुख बाबुराम गौतमले ५ बजेर २० मिनेटमा प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए।
संसदबाट बाहिर निस्कनेबित्तिकै मुख्यमन्त्री कार्कीले सभामुख गौतमलाई भेटेर बैठक सार्न दबाब दिएका थिए।
सभामुखले बैठक सार्न नसकिने जवाफ दिएपछि मुख्यमन्त्री आफ्ना मन्त्रीहरूलाई लिएर प्रदेशसभाबाट ६ बजे आसपास बाहिरिएका थिए। त्यसपछि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा फर्केर आएनन्।
मुख्यमन्त्री फर्केर नआएपछि सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरू छलफलमा जुटेका थिए। त्यस क्रममा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठक सार्न माग गरिरहे। विपक्षी दलका नेताहरूले अस्वीकार गरेका थिए।
सभामुखको कार्यकक्षमा भइरहेको चर्काचर्कीले आधा घन्टाको समय गुज्रिसकेको थियो। मुख्यमन्त्रीले फोनमार्फत अनुरोध गरेपछि सभामुखले साँझ ८ बजेका लागि बैठक बोलाउन सचिवालयलाई निर्देशन दिएका थिए।
आठ बजे बैठक बस्ने सूचना निस्किएपछि पनि छलफल जारी थियो। तर सरकारका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा आएनन्।
अन्ततः एमाले संसदीय दलले बैठक स्थगित गर्न सभामुखलाई अनुरोध गरेपछि राति साढे ९ बजे सभामुखले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनपछि एमाले र माओवादी मिलेर केन्द्रमा सरकार बनाएपछि प्रदेशहरूमा पनि भागबन्डामा सरकार गठन भएको थियो। त्यस क्रममा कोशीमा एमाले नेता कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएर पुस २५ मा शपथ लिएका थिए। सरकारको नेतृत्व सम्हालेको १७३ दिनपछि कार्की नेतृत्वको सरकारले संसदमा विश्वासको मत मागेको थियो।
एमाले नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धनको सरकार कोशीमा बनेको थियो। त्यस बेला कांग्रेस र एकीकृत समाजवादी विपक्षमा थिए।
जेठ १७ मा जसपाले र जेठ २३ मा माओवादीले साथ छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए। सत्ता साझेदार माओवादी केन्द्र र जसपाले सरकार छाडेर अल्पमतमा परेपछि सरकारले जेठ ३१ मा चल्दाचल्दैको बर्खे अधिवेशन अन्त्य गरेको थियो र जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएको थियो।




