नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम कारबाहीमा आफू सन्तुष्ट नरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास र सुशासनमा चुकिरहेको बताए।

उनले ठूल्ठूला काण्डहरूप्रति समर्थन रहे पनि जनतामाझ सरकारले कामको डेलिभरी दिन नसकेको आरोप लगाए। ‘सत्ता पक्षकै धेरै सांसदहरूमा आक्रोश छ। डेलिभरीको सबालमा जसरी सरकारले काम गर्नपर्थ्यो। जटिल अर्थतन्त्रका बेला नागरिकले अनुभूति हुने काम भइरहेका छैनन्। नागरिकले अनुभूत गर्न नपाए त्यो छटपटी हामीलाई पनि हुन्छ,’ उनले भने।

उनले प्रधानमन्त्री दाहालले ‘कम्फर्ट मेजोरिटी’को धाक लगाउन नहुने बताए। बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठकमा सबै ठीकठाक भनेर नटार्न पनि आग्रह गरे।

‘सरकार सञ्चालन गर्ने साथीहरूलाई मैलै संसदमा पनि भनेको थिएँ, तपाइँहरुले यदि हामीलाई टाउको गनेर मसँग टन्न सांसदहरू छन्। म कम्फर्टेबल मेजोरिटीमा छु भनेर गठबन्धनका ठूल्ठूला नेताहरू बालुवाटार बैठकमा बसेर सब ठीकठाक छ भन्नुभएन। कुनै बेला सब ठीकठाक नहुन पनि सक्छ। किनकि त्यो ठीकठाक हामीलाई पनि लाग्नुपर्छ,’ उनले भने, ‘हामीलाई त्यतिबेला ठीकठाक लाग्छ जतिबेला नागरिकलाई ठीकठाक लाग्छ। हामीले प्रतिनिधित्व गर्ने जनताहरू ठीक मानिरहेका छैनन्। पलपलमा काम र कामसँगै परिणाम आओस् भन्ने हाम्रो चाहना छ। डेभलमेन्ट र गर्भनेन्सको काममा हामीलाई चित्त बुझिरहेको छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link