कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना मानिस बिरामी परेका छन् ।
अज्ञात रोग फैलिएको जानकारी पाएपछि जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ ।
चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।
बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ ।
महतले भने, ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको छ ।’
अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए । उनले शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको बताए ।
उपचारका लागि आउने दुई सय छ जना १५ वर्षमुनिका छन् । सबै बिरामीमा एउटै किसिमको लक्षण देखिएको डा. आचार्यले बताए ।