संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीसहित ती दलका प्रमुख सचेतकसमेत सहभागी थिए ।
१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए ।
तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् । तर, बैठकमा सहमति हुन नसकेपछि सोमबार अपरान्ह साढे ३ बजे फेरि शीर्षनेताहरुको बैठक बस्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
साथै सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकलाई अपरान्ह ४ बजे बस्नेगरी सारिएको अधिकारीले जानकारी दिए ।




