विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो ।

विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जानकारी पोखरेलले दिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

उनका अनुसार तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर–१० सन्सारीमाईस्थाननजिकै सोमबार दिउँसो २ :४५ बजेतिर तरबार हानिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छजनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।

घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link