प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली मुलुकको समृद्धिको जग बन्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिको जग कर्णाली हुने बताएका हुन्।

प्रधानमन्त्रीले कर्णालीको जल,जंगल,जडिबुटी,पर्यटनलगायतका प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिको जग कर्णाली बन्ने बताए । उनले भने,’कर्णालीमा अपार प्राकृतिक श्रोत र साधान छन् । यसको सदुपयोगका लागि कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको अभियानमा संघीय सरकार साथ र सहयोगका लागि प्रतिबद्ध छ ।’

उनले संघीय सरकार मुलुकको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि कुनै कसुर बाँकी नराख्ने गरी काम गरिरहेको दाबी गरे । ‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित छु । साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्‍न सक्दछ। कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु। कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,’प्रधानमन्त्री दाहालले भने,’बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ। कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कार्यक्रममा कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने सहिद यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र हरिबहादुर कुवरलाई सम्झिदै नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा बलिदानी गर्ने सबै सहिदलाई सम्मान व्यक्त गरेका थिए ।

उनले आफू तत्कालै चीन भ्रमणमा जाने भएकाले चीन सरकारसँगको साझोदारीमा कर्णालीको विकास र समृद्धिका लागि ठोस पहल गर्ने जिकिर गरे । कार्यक्रममा प्रदेश पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी हिक्मत नेपाली,पत्रकारहरु भक्तबहादुर शाही र पंख शाहीलाई प्रदान गर्नुका साथै कर्णाली प्रदेश प्राप्तिका लागि ज्यान गुमाउने सहिद परिवारलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link