नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन् । गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय सरूवा गरेको हो ।
दुई एसएसपी काज सरूवा भएको पत्र प्रहरी प्रधानलाई प्राप्त भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । उनका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय र एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा जिम्मेवारी तोकिएको छ।
त्यहाँका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पठाइएको डिआइजी कडायतले जानकारी दिए । यसअघि शुक्रबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी हेडक्वार्टर सरूवा गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौं समन्वय गरी अनुसन्धान अगाडि बढाएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई एसएसपी केसी नेतृत्वको टोलीले उनकै निवासमा पुगेर पक्राउ गरेको थियो ।
पछिल्लो समय शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले यसका प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीविरूद्ध जाहेरी दिएपछि उनीहरूको फेरि वयान लिने तयारी थियो ।




