![](https://sagarmathakhabar.com/wp-content/uploads/2021/08/Milan-raj-panta-garman.jpg)
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका थिए । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गरेका थिए ।
एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए ।
उनीहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत थिए । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन् । यसअघि महासचिव पदमा रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहेकी त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएकी हुन् । यस्तै एक अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसिसीको यात्रा तय गरेका हुन् । कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मीरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् । एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका थिए । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिए ।
अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो