राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा उच्च तहका नेता, पूर्वएआईजीपी र पत्रकारहरू पनि मुछिएको सूचना आफूसँग रहेको बताएका हुन्।
बुधबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे। सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो।
उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए।
उनले भने ‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ) नामका व्यक्तिलाई फोटो पनि पठाएको इमानदार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’
लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे।




