लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्। बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यस्तै केसीले मन्त्री र राज्यमन्त्रीहरूलाई पनि सपथ खुवाएका हुन्। बिहीबार सपथ लिने दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा सहसराम यादवले सपथ लिएका छन्।तीन जना भने विनाविभागीय मन्त्री बनेका छन्। विनाविभागीय मन्त्रीको रूपमा सपथ लिनेहरूमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा रहेका छन्। केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् । यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link