नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।
आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ । लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अङ्कले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अङ्कले घटेका छन् ।
त्यस्तै, बैङ्किङ दुई दशमलव १९, विकास बैङ्क २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह तीन दशमलव १२ अङ्कले घटेको छ । आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।




