चन्द्रयान ३ को सफल अवतरणपछि भारतले सूर्यको अध्ययन गर्न रकेट प्रक्षेपण गरेको छ । आदित्य एल १ नामको रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो ।
उक्त रकेटले सौर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । इसरोका अनुसार सूर्यको व्यवस्थित अध्ययनको लागि रकेटले सातवटा साइन्टिफिक पेलोडहरू बोकेर त्यसतर्फ जाँदै गरेको छ ।
शनिबार रकेट प्रक्षेपण गरेको दृश्य इसरोले प्रत्यक्ष प्रशारण गर्दा ८ लाख ६० हजारभन्दा धेरै दर्शकले एकैपटक अवलोकन गरेका थिए ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आदित्य-एल १ लाई चार महिनामा १.५ मिलियन किमी अर्थात् ९३०००० माइल यात्रा गर्नसक्ने गरी डिजाइन गरिएको छ ।




