६० किलो सुन प्रकरणमा माओवादीका उच्च तहका नेताहरूका छोराहरूको संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले अनुसन्धान गरिरहेको छ ।
माओवादीका पूर्वसैन्य कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा व्यावसायिक साझेदारसमेत थिए ।
बादलका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार छन् ।
राहुल माओवादीको युवा संगठन वाइसिएलका उपमहासचिव हुन भने दीपेश विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् ।बादलपुत्र प्रतीक अहिले मुलुकबाहिर रहेको प्रहरी स्रोतको भनाइ छ ।
महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट प्रकाउ गरेको थियो । पक्राउ परिसकेपछि उनले सिआइबीलाई सघाउनका लागि आफैं सिआइबी कार्यालय उपस्थित हुन लागेको स्ट्याटस फेसबुकमा लेखेका थिए ।
भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा उनलाई पक्राउ गरिएको भनिए पनि राहुलको संलग्नता ६० किलो सुन प्रकरणमा समेत देखिएको सिआइबी स्रोतको भनाइ छ ।
चिनियाँ समूहले भेपमा लुकाएर भित्र्याएको ९ किलो सुनबारे बुझ्न राहुलले पटक-पटक विमानस्थलस्थित भन्सार प्रमुखसँग सम्पर्क गरेका थिए। पूर्वसभामुख महराले समेत उक्त भेपको लिलामी प्रक्रिया बुझ्न भन्सार प्रमुखसँग कुराकानी गरेका थिए ।
सिआइबीको अनुसन्धानबाट महरा बाबु-छोराको सम्पर्क सुन भित्र्याउने गिरोहसँग भएको देखिएको थियो । सिआइबीले अनुसन्धान प्रतिवेदनमा लिंक चार्ट बनाएर महरा बाबु-छोराको संलग्नताबारे उल्लेख गरेको थियो ।
भेपको ९ किलो सुन प्रकरणमा विमानस्थलको भन्सारबाट सुन चोरी गर्नेहरू पक्राउ परे पनि भित्र्याउने समूह भने पक्राउ परेको छैन । यस्तै नक्कली शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकको ६० किलो सुन भित्र्याउने समूहसँग निकट रहेको र यसअघि पनि यी तीन नेतापुत्रहरूले गिरोहसँग मिलेर सुन भित्र्याएको तथ्य सिआइबीले फेला पारेको छ ।




