देशभरका सामुदायिक विद्यालय बिहीबार देखि बन्द गरिएकाे छ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले सामुदायीक विद्यालय बन्न गरेकाे हाे ।
महासंघले बिहीबार देखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेका कारण देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।
सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ ।
महासंघको आह्वानमा देशभरबाट हजारौँ शिक्षक र कर्मचारी काठमाडौँ आएका छन् । उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै बुधबार बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ ।
देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षक आन्दोलनमा उत्रिएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
आधा भन्दा धेरै शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएपछि अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन् ।
आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदाका दिनमा पढाएर भएपनि परिपूर्ति गर्ने महासंघले जनाएको छ ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन् । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन् ।




