सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो ।

निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ।त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ ।

हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १७६ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८४ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १७८ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८५ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल १७९ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ भने सबैतिर दुई हजार एक सय १० रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link