एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे ।
रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए । ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए ।
सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए। करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे । खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो ।
बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३-३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो । नेपाल र भारतबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो ।
भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए । यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे ।
भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे । भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो ।
यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।