१९औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक पक्का गरेको छ। बुधबार समूह ‘बी’को अन्तिम लिग खेलमा इरानले बंगलादेशलाई हराएसँगै नेपालले कास्य पदक पक्का गरेको हो । एसियाडमा नेपालले हालसम्म एउटा पनि पदक जित्न सकेको छैन । समूह ‘बी’मा नेपाल र इरानसहित बंगलादेश गरी तीन राष्ट्र छन् ।
चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिग खेलमा नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो। नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्यो।
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । आजको खेलमा इरान विजयी भएकाले नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
रशिला महर्जन प्रिक्वार्टरफाइनलमा प्रवेश
यसैगरी ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। बिन्जियाङ जिम्न्याजियममा मंगलबार भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४, २१–७ को सोझो सेटमा पराजित गरिन्।
यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो। बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो। महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई २१–१०, २१–४ ले सोझो सेटमा हराइन् ।