प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो । सुरुमा हमासले इजरायलमाथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म ७० जना इजरायली र १ सय ९८ जना प्यालेस्टिनीहरू मारिएको उल्लेख छ । त्यस्तै ७ सयभन्दा बढी इजरायलीहरू घाइते भएको बीबीसीले जनाएको छ ।
उक्त आक्रमणमा नेपाली पनि परेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, २ को अवस्था गम्भीर छ । १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण हुँदा सो घटना भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्षतिको अरू विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ । नेपालीले काम गर्ने फार्म गाजा क्षेत्रनजिकै थियो ।
एक नेपाली महिलाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्– ‘नेपालबाट करिब १ महिना पहिला ५० जना विद्यार्थी भाइबहिनी गाजा क्षेत्रमा आएका रहेछन् । कलेज पनि त्यतै र कृषि फारम पनि नजिकै भएकाले गाजाको नजिक बसेका रहेछन् । उनीहरू ३ वटा कलेजमा बस्दा रहेछन् । एउटा कलेजका भाइ–बहिनीले बंकरमा बसेको र सुरक्षित रहेको जानकारी गराएका छन् । कुरा गर्दा चित्कार सुनिन्छ । भाइ–बहिनी आत्तिएको अवस्थामा रहेको प्रस्टै थाहा हुन्छ । अवस्था आत्तिने मात्र होइन, साह्रै असह्य छ । फोन सम्पर्कमा बचाइदिनुहोस् भन्ने चित्कार थियो।’
कसरी सुरु भयो हमला ?
इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गर्यो । शनिबार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए । अपुष्ट खबरहरूमा जनाइएअनुसार कैयौं इजरायलीलाई बन्दी बनाएर लगिएको छ । हमासको आक्रमणको जवाफमा इजरायलले पनि प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र गाजाको शासक हमासले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
हमासले गाजापट्टी क्षेत्रबाट २० मिनेट अवधिमै ५ हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ । उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको छ । हमासका लडाकुहरूले गाजा क्षेत्रबाट इजरायली सीमामा प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गर्दै बन्दीसमेत बनाएका छन् । शनिबार बिहानै हमासका वरिष्ठ सैन्य कमान्डरले युद्धको घोषणा गर्दै सबै प्यालेस्टिनीहरूलाई आआफ्नो स्थानबाट लडाइँमा भाग लिन अपिल गरेका थिए ।
बीबीसीका अनुसार इजरायलका दर्जनौं लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेका छन् । तेल अभिभ विमानस्थल पनि बन्द गरिएको छ । इजरायलीहरूले बंकरमा लुक्दै सेनाको सहयोगको प्रतीक्षा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, आक्रमणको इरानले समर्थन गरेको छ भने अन्य विश्वले भर्सना गरेका छन् । फ्रान्स, बेलायत, जर्मनी, युरोपेली संघ, अमेरिकालगायतले इजरायलमाथि आक्रमणको विरोध जनाएका छन् ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने प्यालेस्टिनीको प्रतिरक्षा अधिकार भएको बताएका छन् । इजरायलस्थित अमेरिकी दूतावासले आक्रमणबाट कैयौं मानिसहरू हताहत भएको जनाएको छ । घटनापछि आफ्नो सुरक्षाप्रति सचेत हुन पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ । सन् १९७३ अक्टोबर युद्धको वार्षिकोत्सवको एक दिनपछि हमासले आक्रमण गरेको हो ।
जब आक्रमणको सूचना दिने साइरन बज्यो
बीबीसीका अनुसार शनिबार बिहानै हमासका दर्जनौं बन्दुकघारी दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमणमा लागे । त्यसबेला इजरायलको सेनाले परिस्थितिको मूल्यांकन गर्दै गाजा स्ट्रिपमा आक्रमणकारी भएका स्थानहरूमा प्रहार गरिरहेको बताएको थियो ।
शनिबार सुरुमा इजरायलतर्फ दर्जनौं रकेटहरू प्रहार गरिएको थियो । त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए । तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका थिए । प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको थियो । उसको सशस्त्र बलले शनिबार २० मिनेटमा ५ हजारवटा रकेट प्रहार गरेको थियो ।