प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय शोकको दिन आज (मंगलबार) देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्‌को बैठकले इजरायलमा ज्यान गुमाएका शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि गरेको थियो । यस्तै, इजरायलमा ज्यान गुमाएकाका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको थियो ।

सरकारले इजरायलमा द्वन्द्वग्रस्त तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीहरुको उद्धार गरी इच्छुकलाई स्वदेश ल्याउने पनि निर्णय गरेको छ । नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको छ । उडानका लागि इजरायलसँग समन्वय भइरहेको र इजरायल सरकारले उडानका लागि सहमति जनाएमा तत्काल जहाज उड्ने बताइएको छ ।

कृषि विज्ञान विषयमा प्रयोगात्मक अध्ययन कार्यक्रम ‘सिक्दै कमाउँदै’अन्तर्गत नेपालबाट गएका विद्यार्थीहरु हमास समूहको आक्रमणमा परेका हुन् । आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका १० जना विद्यार्थीहरु मारिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link