इजरायलमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ । नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हाे ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् । जहाज दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने छ । त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई उद्धार गरिने । उद्धारका लागि गएकाे जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए । इजरायलबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका छन् ।

आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन् । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने छ । शव ल्याउन भने केही दिन लाग्ने बताइएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link