यस वर्ष टीकाकाे उत्तम साइत कार्तिक ७ गते मंगलबार बिहान ११:२ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।मंगलबार बिहान देवी विसर्जन गरी ११ बजेर २ मिटेकाे उत्तम साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका तथा जमरा लगाउन सकिने निर्णायक समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समिति जानकारी दिएकाे छ ।
विजया दशमीकाे दिन मान्यजनबाट टीका लगाएर सुरू भएकाे दशैं देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्रै टीका लगाउँने चलन छ ।
नेपालीहरूकाे महान् पर्व दशैंमा विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्दछ । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।