एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्‍यो । भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३२ रन बनाइन्। ३७ बलको सामना गरेकी उनले २ चौका र १ छक्का प्रहार गरिन् ।

यस्तै, रुबिना क्षेत्रीले १७ रन बनाइन्। २४ बलको सामना गरेकी रुबिनाले १ छक्का र १ चौका प्रहार गरिन् । नेपालकी ओपनिङ ब्याटर कविता कुँवर भने ५ रनमा आउट भएकी थिइन्। यस्तै, कप्तान इन्दु बर्मा मात्र १ रनमा आउट भइन् । नेपालविरुद्ध भुटानकी अञ्जु गुरुङ र अन्जुली घलेले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानका लागि न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाइन् । ५० बलको सामना गरेकी उनले १ चौका हिर्काइन् । भुटानकी कप्तान देचेन वाङ्मोले १७ रन बनाइन्। २१ बल सामना गरेकी उनले ३ चौका हिर्काइन् । छिरिङ जाङ्ग्मोले १७ रन बनाइन् ।

भुटानविरुद्ध नेपालकी कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिएका थिए । जारी प्रतियोगितामा नेपालले भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको थियो। नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो  । टी २० फर्म्याटमा भइरहेको प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ । नेपालले तेस्रो खेल फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link