वेस्ट इण्डिज ए विरूद्ध नेपाल ६ विकेटले विजयी भएको छ । शनिबार भएकाे अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर अक्ष्य पूरा गरेको हो ।
कुशल मल्लले १८ औं ओभरमा विस्फोटक ब्याटिङ गरेपछि नेपालकाे जीत सहज भएकाे हाे । ओभरको पहिलो बल छक्का र त्यसपछिका चार बलमा चौका प्रहार गरेपछि नेपाल इनिङको सात बल बाँकी छँदै विजयी भएको हो । कुशल मल्ल १८ बलमा ३७ रन बनाएर नट आउट रहे। उनले ३ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि आशिफ शेख र अनिल साहले अर्धशत हानेका थिए । अनिलले १५.१ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। ४१ बलमा अर्धशत पूरा गरेका उनले ४ चौका र तीन छक्का हाने ।
१७ औं ओभरको दोस्रो बलमा आउट हुनुअघि अनिलले कुल ५८ रन जोडे भने चार छक्का प्रहार गरे । सिरिजको यसअघिका खेलमा अनिलको प्रस्तुत सन्तोषजनक हुन सकेको थिएन । अन्तिम खेलमा उनले टिमलाई जिततर्फ उन्मुख गराएका थिए ।
१४ औं ओभरमा आउट हुनुअघि अर्धशत पूरा गरेका आशिफले ३५ बलमा २ चौका र ५ छक्का हाने । शनिबारकाे खेलमा दीपेन्द्रसिंह ऐरी ५ र कुशल भूर्तेल १३ रन बनाएर आउट भए ।
बलिङतर्फ वेस्ट इण्डिज ए का ओबेड मिककोयले ४ र म्याथ्यु फोर्डीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । शनिबारको खेलमा सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिए । वेस्ट इण्डिजका शीर्ष क्रमका तीन ब्याटरलाई सागर ढकालले सस्तोमै आउट गरे ।
उनले आठौं ओभरमा दुई विकेट लिए । ओभरको पहिलो बलमा वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्स र तेस्रो बलमा मार्क देयाल आउट भएका थिए । आउट हुनुअघि जोनसनले २० बलमा २४ रन र देयालले १९ बलमा ११ रन बनाएका थिए ।
त्यसअघि सागरले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले दोस्रो ओभरको चौथो बलमा कादिम एल्लेनलाई आउट गरेका थिए । कादिम सागरको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि कादिमले ६ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाएका थिए । वेस्ट इण्डिजका कप्तान रोस्टन चेस आजको खेलमा ३३ रन बनाएर आउट भए । उनलाई अभिनाष बोहराले बोल्ड गरे ।
१९ औं ओभरमा सोमपाल कामीले २ विकेट लिए । दोस्रो बलमा फाबियन एलेन र पाँचौं बलमा गुडकेश मोतीलाई आउट गरे । त्यसअघि १७ औं ओभरको तेस्रो बलमा म्याथ्यु फोर्डीलाई सोमपालले कुशल भूर्तेलबाट आउट गराएका थिए ।
आउट हुनुअघि फोर्डीले १२ बलमा ३ छक्का प्रहार गरी २३ रन जोडेका थिए । वेस्ट इण्डिजले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको छ ।