सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन सकस परेकाे छ । शनिबार  मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक स्थगित भएकाे थियाे ।  बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि शुक्रबार तय गरिएको बैठक पनि सूचना टास गरेर स्थगित गरिएकाे थियो ।

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा असहज मान्दै आएको छ । सुरूमा उनलाई मुख्यमन्त्रीसमेत स्वीकार गरेको थिएन । एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भनेपनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो ।

त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ । एमालेले विश्वासको मत लिन छलफल नै नगरी प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रस्ताव दर्ता गराएकाले आफूहरू आन्तरिक छलफलमा रहेको बताउँदै आएको छ ।

शुक्रबार स्थगित गरी शनिबार बैठक बोलाइएपछि एमाले सुदूरपश्चिम संसदीय दल नेता राजेन्द्रसिंह रावल काठमाडौं गएका छन् । उनले यसबारेमा शीर्ष नेताहरूसँगै छलफल गरेर निर्क्यौल गरिने भनेका छन् । प्रमुख सत्ता साझेदार दलका नेता नै काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले बैठक स्थगित गर्न भनेका हुन् ।

सत्ता समीकरणमै रहेको दल विश्वासको मतबारे अन्योल देखिएपछि सुदूरपश्चिममा माओवादी केन्द्र र समीकरणमा रहेका अन्य दल सशंकित भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने विषयमा नै संशय पैदा भएको नेताहरू बताउन थालेका छन् ।

सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । एमाले मात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ ।

रेशम चौधरी पक्षले मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ सांसद सरकारमा छन् । नागरिक उन्मुक्तिका रेशम पक्षका पाँच जना सासंद मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा छन् ।

मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link