घरेलु टोली अमेरिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ ।
१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।
एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२(२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनकोृ सानदार शतकीय साझेदारी गरेका थिए ।
अमेरिकाको सुरुवात भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुदा अमेरिका ६.३ ओभरमा ४२(२ को अवस्थामा थियो ।
तर त्यसपछि जोन्स र गौसले पुरै खेलको माहोल नै परिवर्तन गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले १(१ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएपनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।
क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए ।
परगत सिंह ५ रनमा रन आउट भएका थिए । त्यो समय क्यानडा ८ ओभरमा ६६–२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले १–१ विकेट लिए ।
समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अव अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुवात गर्नेछ ।