आइसिसी विश्वकप लिग-२ मा नेपालले स्कटल्यान्डमाथि ५ विकेटको जित निकालेको छ । यसअघि गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो ।

बुधबार नेपालले अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी मैदानमा स्कटल्यान्डले दिएको १५५ रनको सामान्य लक्ष्य ५ विकेको क्षतिमा २९.५ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि आरिफ शेखले नटआउट ५१ रन र गुल्सन झाले नटआउट २५ रन बनाए। आरिफले ४२ बलमा ८ चौका प्रहार गर्दा गुल्सनले ३० बलमा ३ चौका र १ छक्क प्रहार गरे।

त्यअसघि ओपनरद्वय अनिलकुमार साह १३ र आसिफ शेख २१ रनमा आउट भएका थिए। कुशल मल्लले ७ रन र कुशल भुर्तेलले २५ रन मात्र जोड्न सके। कप्तान रोहितकुमार पौडेल पनि १ रनमै आउट भएका थिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अलआउट भयो। उसका लागि मार्क वाटले सबैभन्दा बढी ३४ रन जोडे।

Laxmi bank
उत्कृष्ट बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ४५ रन दिए। करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिन सफल हुँदा प्लेयर अफ दि म्याच आरिफ शेखले १ विकेट लिए।

पहिलो ओभरमा करण केसीले ओपनर चार्ली टियरलाई शून्यमा बोल्ड गरेसँगै विकेट लिन थालेको नेपालले स्कटल्यान्डलाई २३ ओभर चल्दै गर्दा ५ विकेटको क्षतिमा ७० रनमा समेटेको थियो।

अमेरिकामा भइरहेको यो सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई घरेलु टोली अमेरिकाले ३ विकेटले पराजित गरेको थियो। लिग-२ का १० खेल खेलेको नेपाल ५ अंक जोड्दै आठ टोलीमध्ये सातौ स्थानमा छ। अब नेपालले सिरिजको तेस्रो खेलमा शनिबार राति अमेरिकासँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link