टुसाल मल्टिभेन्यूद्वारा आयोजित चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता आगामी साउन १७ गते हुने भएको छ । प्रतियोगिता तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको विशेष सहकार्यमा आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयले सहभागिता जनाउनेछन्। टुसाल मल्टिभेन्यूका प्रवन्ध निर्देशक लक्ष्मण केसीका अनुसार करिब १५० जना छात्र–छात्राले प्रतियोगितामा भाग लिने अपेक्षा गरिएको छ। उनका अनुसार यसअघि प्रतियोगिता कक्षाका आधारमा हुँदै आएको थियो भने यसपटक उमेर समूहका आधारमा प्रतिस्पर्धा गराइनेछ ।
टुसाल मल्टिभेन्यूका अपरेसन म्यानेजर विशाल खड्काले प्रतियोगितामा टिम ट्रफी अंक प्रणालीको आधारमा प्रदान गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा कुल २९ विधा (इभेन्ट्स) मा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ८ वर्ष वा सोभन्दा कम उमेर समूहका बालबालिकाले चारवटा खेल विधामा भाग लिनेछन्। यस समूहमा केटासाथी र केटीसाथी दुबैको सहभागिता रहनेछ। उनीहरूले २५ मिटर फ्रिस्टाइल र २५ मिटर ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गर्नेछन्।
९ देखि १० वर्ष उमेर समूहमा प्रतियोगिताका लागि कुल ६ विधा समावेश गरिएका छन्। यस समूहका ब्वाइज र गर्ल्सले २५ मिटर फ्रिस्टाइल, २५ मिटर ब्रेष्ट स्ट्रोक तथा २५ मिटर ब्याक स्ट्रोकमा आफ्नो क्षमता देखाउने अवसर पाउनेछन्।
त्यस्तै, ११ देखि १२ वर्ष र १३ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि थप प्रतिस्पर्धात्मक कार्यक्रम तय गरिएको छ। यी दुई उमेर समूहका सहभागीहरूले फ्रिस्टाइल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक, बटरफ्लाइ र इन्डिभिजुअल मेड्ले जस्ता विधामा प्रतिस्पर्धा गर्नेछन्। यस समूहमा ब्वाइज र गर्ल्स गरी १८ विधामा प्रतिस्पर्धा हुनेछ।
त्यसका अतिरिक्त, प्रतियोगितामा मिक्स फ्रिस्टाइल रिले, जसमा दुई केटा र दुई केटी खेलाडीले समावेश हुनेछन्, तथा चार जना सहभागीको ४×२५ मिटर फ्रिस्टाइल रिले पनि समावेश गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारीहरू अन्तिम चरणमा पुगेका छन्। विद्यार्थीहरूमा पौडी खेलप्रतिको रुचि बढाउने र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।




