सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्डले यस वर्षको चौथो गौरा पर्व आउँदो आइतवार, भदौ १४ गते (अगष्ट ३१, २०२५) अमेरीकामा भव्य रूपमा आयोजना गर्ने भएको छ । हिन्दु बुद्ध मन्दिर, ग्लेन आर्ममा आइतबार सञ्चालन हुने यस कार्यक्रममा धार्मिक पूजाआराधना देखि सांस्कृतिक प्रस्तुति रहनेछ ।
गौरा पर्व सुदूरपश्चिम नेपालको प्रमुख सांस्कृतिक र धार्मिक पर्वका रूपमा मानिन्छ । देवी गौराको पूजाआराधनाद्वारा परिवार र समाजमा एकता, सद्भाव र संस्कृतिको संरक्षण गर्ने परम्परा यस पर्वसँग जोडिएको छ । महिलाहरूले उपवास गरी देवी गौराको पूजा गर्ने, समुदायले सामूहिक रूपमा देउडा गीत, गौरा नृत्य र परम्परागत बाजागाजा सहित उल्लासपूर्वक रमाउने प्रचलन छ । यही परम्परालाई अमेरिकामा रहेका नेपालीहरूले निरन्तरता दिँदै आएका छन् ।
समाजका अध्यक्ष विक्रम शाहीले गौरा पर्व केवल धार्मिक उत्सव मात्र नभई नेपाली समुदायलाई एकै ठाँउमा जोड्ने ऐतिहासिक अवसर भएको बताए । उनले भने, “गौरा पर्व हाम्रो मौलिक सांस्कृतिक धरोहर हो । यसलाई अमेरिकाजस्तो बहुसांस्कृतिक समाजमा पनि निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। यस वर्षको कार्यक्रमलाई हामी अझै भव्य बनाउन विशेष तयारी गरिरहेका छौँ । पूजाआराधनासँगै विविध सांस्कृतिक प्रस्तुति, परम्परागत बाजागाजा, देउडा नृत्य र बालबालिकादेखि युवासम्मको सहभागिताले यसलाई स्मरणीय बनाउनेछ ।”
कार्यक्रममा गौरी पूजा तथा दूधढुंगाको अभिषेक, कलश यात्रा, सांस्कृतिक प्रस्तुति र सामूहिक शाकाहारी भोजसमेत हुनेछ। आयोजकहरूले सम्पूर्ण नेपाली समुदायलाई यस अवसरमा सहभागी भई आफ्नो मौलिक परम्परा जगेर्ना गर्न आग्रह गरेका छन् ।




