
मेलबर्न । अष्ट्रेलियामा एउटा भेडा अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ ।केहीदिनअघि उद्धारकर्ताले फेला पार्दा त्यो भेडाजस्तो होइन अनौठो जनावरजस्तो देखिएको थियो । उसको शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो ।उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर उत्तरमा भेटिएको थियो । स्थानीयहरूले एड्गर्स मिसनका उद्धारकर्तालाई बाराकबारे जानकारी दिएका थिए ।बाराकको शरीरबाट उद्धारकर्ताले झन्डै ३५ किलोग्राम उन निकालेका छन् । वर्षौंदेखि शरीरमा थुप्रिएको उनले बाराकलाई मृत्युनजिक पुगिसकेको थियो ।कुनै बेला घरम पालिएको बाराकको पाँच वर्षदेखि रौं नकाटिएको हुनसक्ने उद्धारकर्ताले अनुमान गरेका छन् । भेडाको शरीरबाट कम्तिमा वर्षमा एक पटक उन निकाल्नुपर्छ नत्र त्यो बढ्दैबढ्दै गएर समस्या हुन थाल्छ ।उद्धारकर्ताले उन निकालेपछि बाराक अहिले दुब्लो पातलो र राम्ररी देख्न सक्ने भएको छ । बाराकलाई मिसनले अहिले उद्धार गरिएका अरू भेडासँगै राखेको छ । बाराक बिस्तारै तन्दुरूस्त भइरहेको मिसनले जनाएको छ ।