संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९)लाई महामारी घोषित गरेको थियो । यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै साढे ३१ लाखमा संक्रमण देखिएको छ ।

यसबारे वैज्ञानिक र चिकित्सकहरूले प्रत्येक दिन कुनै न कुनै नयाँ तथ्य पत्ता लगाइरहेका छन् । कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ भन्ने थाहा भए पनि यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ भन्नेबारे अनुसन्धान जारी छ । विज्ञहरूले यसमा केही नयाँ तथ्य पत्ता लगाएका छन् ।

शरीरमा यसरी प्रवेश गर्छ भाइरस

कोरोना भाइरस पानीको कणको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा प्रवेश गर्छ । संक्रमितले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा थुकको माध्यमबाट भाइरस हावामा प्रवेश गर्छ र आँखा, नाक र मुखबाट अर्को मानिसको शरीरका प्रवेश गर्छ । हावामा रहेको भाइरस हातको माध्यमबाट मुख, नाक वा आँखा छँुदा पनि छालाको सतहमा रहन सक्छ, जुन सजिलै मुख, नाक, घाँटी हुँदै श्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्छ ।

सामान्यतया, कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा छोटो समयमा नै सजिलै सर्छ भन्ने थाहा भए पनि यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ भन्नेबारे भने अझै अनुसन्धान भइरहेको छ ।

त्यस्तै, संक्रमितको सम्पर्कमा आउँदा करिब ६ फिट दूरीसम्म विभिन्न माध्यमबाट अर्को व्यक्तिमा भाइरस सर्न सक्छ । अर्थात् कोरोना प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट सर्न सक्छ ।

शरीरमा भाइरस प्रवेश गरेपछि…

कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको आकारमा वृद्धि हुन्छ । सामान्यतया, आरएनए भाइरस शरीरमा प्रवेश गरिसकेपछि ती ६० एनएमदेखि १४० एनएम आकारसम्म वृद्धि हुन्छ । भाइरस माइक्रोस्कोपबाट हेर्दा निश्चित आकारमा देखिन्छन् । बिस्तारै स्वस्थ कोषहरूमा प्रवेश गरेर यसले क्षति पु-याउँछ ।

एन्युअल रिभ्यु अफ भाइरोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार, कोरोना भाइरस स्वस्थ कोषमा प्रवेश गरिसकेपछि पनि अन्य भाइरस विकसित हुन्छन् । बिस्तारै कोष नष्ट हुँदै जान्छ र सो अंगको कार्य क्षमतामा ह्रास आउँछ । अहिलेसम्मको अध्ययनअनुसार, कोरोना भाइरसले फोक्सो, कलेजो, मुटु, मिर्गाैला, पेट र आन्द्रामा बढी असर पारेको छ ।

फोक्सोमा संक्रमण

कोरोना भाइरस सुरुमा श्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्छ । यसले कोषहरू नष्ट गर्दै जाने र वायु थैली सुन्याउने हुँदा श्वास–प्रश्वासमा कठिनाइ हुन्छ । बिस्तारै भाइरसको संख्या बढ्दै गएपछि निमोनियाजस्ता जटिल खालका समस्या उत्पन्न हुन्छन् । फोक्सो सुन्निने र सेप्सिसको समस्या गराउने भएकाले श्वास–प्रश्वासका साथै अन्य अंगमा समेत असर पर्न थाल्छ।

कलेजोमा संक्रमण

काेरोना संक्रमणले कलेजोका कोषहरूमा क्षति पु¥याउँछ । कोषहरू सुन्निने र बिस्तारै नष्ट हुने भएकाले रक्त प्रवाहमा बाधा पु-याउनुका साथै एन्जाइममा चुहावट ल्याइदिन्छ ।पछिल्लो एक अध्ययनअनुसार कोरोना भाइरसको संक्रमण भएर मृत्यु भएका व्यक्तिमा कलेजोमा क्षति भएको पाइन थालेको छ ।

मिर्गौला र मुटुमा संक्रमण

कोरोनाको संक्रमणका कारण मिर्गौलाका कोषहरू पनि सुन्निने गर्छ । कोभिड–१९ का बिरामीमा मिर्गौलामा पनि समस्या आएको पाइएको छ ।

पेट र आन्द्रामा संक्रमण

रोग नियन्त्रण केन्द्रका अनुसार कोरोना संक्रमितमा ज्वरो र श्वास–प्रश्वासमा समस्या आउने लक्षण देखिनुभन्दाअघि पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । यसको अर्थ, कोरोनाले शरीरका विभिन्न अंगमा एकैचोटि प्रभाव पार्ने गर्छ । तसर्थ, कोरोना संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम राख्ने, हातमुख बारम्बार सफा गर्ने, खानेकुरा राम्ररी पकाएर खाने तथा प्रतिरोधी क्षमता बढाउने क्रियाकलापमा ध्यान दिनेजस्ता विषयमा सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link