नेपाली कांग्रेसले आगामी चुनावमा गठबन्धनसँग तालमेल नगर्ने भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने प्रस्ट पारेका छन् ।
आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने ।चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पारे । बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन् ।
गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो । जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए । बैठकमा देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने बताए ।




