युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण सोधेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।
स्रोतका अनुसार राखेपको बोर्ड बैठक राख्न सदस्यले भूमिका नखेलेको भन्दै स्पष्टिकरण सोधिएको जनाइएको छ । मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग स्पष्टिकरण मागेका छन् ।
मन्त्री गहतराजले खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटसँग स्पष्टिकरण माग गरेका हुन् ।
यसैगरी उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईसँग पनि स्पष्टिकरण माग गरिएको छ । उनीहरुलाई तत्कालिन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए । अर्जुनबहादुर केसीले राजीनामा दिए पनि उनको राजीनामा तत्कालिन मन्त्री विश्वकर्माले रोकेर राखेका थिए ।
सरकारले कात्तिक १ गते राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले सिलवाललाई पदमुक्त गरेको हो ।
सरकारको निर्णय विरुद्ध सिलवालले कात्तिक २५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले सरकारको निर्णय गैरकानुनी रहेको जिकिरसहित अन्तरिम आदेशको माग गरेका छन् । सिलवाललाई बर्खास्त गरेलगत्तै खेलकुदमन्त्री गहतराजले राखेपका बोर्ड सदस्यलाई राजीनामा दिन भनेका थिए ।




