सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ । उपाध्यायले साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओले मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।
आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा पाेस्ट गरेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।
पूर्णिमायाले रमाइलोको लागि आफूले टिकटकमा राखेको भिडिओलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताइन् । त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनले बताइन् । उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।
उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो । उनीहरूले राँगाको मासु खाएका थिए । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ ।




